गुरुकुलमा संस्कृतसँगै आधुनिक शिक्षा

Uncategorized

स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीमा रहेको गुरुकुलले संस्कृत भाषासँगै आधुनिक शिक्षा दिन थालेपछि विद्यार्थी आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ रामनदीधाममा ‘रामनदीधाम संस्कृत गुरुकुलम’ स्थापना गरी संस्कृत भाषा, व्याकरणसँगै अङ्ग्रेजी र कम्प्युटर शिक्षा दिन थालेपछि विद्यार्थी गुरुकुलप्रति आकर्षित हुन थालेका गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

“गुरुकुल भन्नासाथै संस्कृतका कर्मकाण्डमात्रै सिकाउने गरिन्छ भन्ने मान्यता थियो”, प्रअ बस्यालले भन्नुभयो, “अबको युगमा कर्मकाण्डमात्रै होइन आधुनिक र समयसापेक्ष शिक्षा पनि सँगसँगै प्रदान गर्नु आवश्यक ठानेर हामीले संस्कृतसँगै आधुनिक शिक्षा प्रणालीको शुरुआत गरेपछि विद्यार्थी बढेका छन् ।”

नेपाल सरकारको मातहतमा रहने गरी गुरुकुल शिक्षा र वनकाली काठमाडौँमा रहेको संस्कृत विद्यालयको पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक निर्माण गरिएको गुरुकुलले जनाएको छ ।

गुरुकुलमा लघु सिद्धान्तकौमुदी, संस्कृत भाषा, वेद र कर्मकाण्ड ४०० र आधुनिक शिक्षातर्फ अङ्ग्रेजी, गणित, सामाजिक र नेपाली ४०० सहित कूल ८०० पूर्णाङ्कको पढाइ हुन्छ । अतिरिक्त कक्षाअन्तर्गत कम्प्युटर र योग शिक्षा प्रदान गरिएको छ ।

गल्याङ नगरपालिकाबाट आधारभूत तह (६–८) कक्षाको अनुमति लिई गत वैशाखबाट सञ्चालनमा आएको गुरुकुलमा हाल स्याङ्जासहित पाल्पा, नवलपरासी, उदयपुर, कपिलवस्तु जिल्लाका २० छात्र अध्ययनरत रहेका प्रअ बस्यालले बताउनुभयो ।

गल्याङ नगरपालिकाबाट तीन लाख, देउसी भैलोबाट सङ्कलन भएको तीन लाख, विभिन्न चन्दादाता, अक्षयकोषदाता, मुठीदानबाट प्राप्त सहयोगबाट गुरुकुल सञ्चालन हुँदै आएको छ । प्रअ बस्यालले भन्नुभयो, “बीस छात्रलाई भोजनसहित आवासीय व्यवस्था गुरुकुलले नै गरेको छ ।”

गुरुकुलमा हाल चार शिक्षक र एक भान्छे छन् । “बालबालिका जति पढ्दै गएका छन् तर उनीहरुमा आजभोलि कता–कता संस्कारको कमी भएको हो कि भन्ने महसुस हुन थालेको छ”, रामनदीधाम धार्मिक पर्यटकीय एकीकृत विकास समितिका अध्यक्ष पूर्ण बस्नेतले (कौशिक) भन्नुभयो, “हामीले गुरुकुलका माध्यमबाट मुख्यतः संस्कारसहितको शिक्षा दिन खोजेका हौँ जसले गर्दा यहाँका विद्यार्थी जहाँ पुगे पनि उत्कृष्ट बन्न सकुन् भन्ने चाहना हो ।”

गुरुकुलमा जुनसुकै समुदाय, जातजातिका इच्छुक बालबालिकालाई निःशुल्क शिक्षा दिइने समितिका अध्यक्ष बस्नेतले बताउनुभयो । “संस्कृत पढेर कर्मकाण्डको मात्रै काम गर्ने विद्यार्थी उत्पादन गर्न खोजिरहेका छैनौँ”, समितिका अध्यक्ष बस्नेतले भन्नुभयो, “संस्कारयुक्त आधुनिक शिक्षा र प्रविधिसँग घुलमिल भई युगअनुसार चल्न सक्ने बनाउनु गुरुकुलको लक्ष्य हो ।” संस्कार, संस्कृतिसँगै संस्कृत भाषाको संरक्षण र सम्बद्र्धन गर्न गुरुकुलले महत्वपूर्ण भूमिका खेल्ने भएकाले संस्कृत गुरुकुल सञ्चालन गरेको समितिका अध्यक्ष बस्नेतले सुनाउनुभयो ।

विसं २०४२ मा योगी नरहरिनाथले यहाँ गुरुकुल स्थापना गर्ने उद्देश्यले छ महिना गायत्री कोटी हवन गर्नुभएको गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले बताउनुभयो । मानिसमा नैतिक आचरण, आध्यात्मिक ज्ञान हराउँदै गएकोले गुरुकुलका माध्यमबाट पुनः त्यसलाई जगाउने उद्देश्य रहेको समितिका अध्यक्ष सरस्वतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *